बेसार पानी र बेलाउतीको पातले भाग्न नसकेको कोरोना भाइरस
शर्मिला भण्डारी
काठमाडौं । सोमबार दिउँसो देवचुलीका एक कोरोना सङ्क्रमित पुरुषलाई अस्पताल लान एम्बुलेन्स नपाएपछि ट्याक्टरमा राखेर लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भयो । जुन खबर सुन्दा, पढ्दा र हेर्दा सबैका आँखा रसाए । मलाई थाहा छैन प्रधानमन्त्रीज्यू तपाईँका कानसम्म यो खबर पुग्यो कि पुगेन ? यदि तपाईँको कानमा यो खबर पुग्यो भने अब भन्नुस् देशमा कोरोनाले कति भयावह रूप लिँदै छ । सामान्य नागरिकको अवस्था कस्तो हुँदै छ ? प्रधानमन्त्रीज्यू तपाईँले भाषण ठोक्नुहुन्छ र भन्नुहुन्छ, ‘कोरोना भनेको केही होइन हाछिउँ गर्ने, भगाउने ।
तपाईँ जस्तो अविभावकीय पदमा बसेको व्यक्तिले कहिले बेसार पानी खाएर त कहिले बेलाउतीको पात पकाएर खाए कोरोना निको हुन्छ भनेर ज्ञान बाँड्नुहुन्छ । प्रधानमन्त्रीज्यू तपाईँको बेसार पानी र बेलाउतीको पातले काम गर्ने भए देशमा कोरोनाले यति भयावह स्थिति सिर्जना गर्ने थियो र ? समाचारहरूमा जताततै दुखका खबरहरू आउन थालेका छन् । सामाजिक सञ्जालतिर चिनेजानेका आफन्त कोरोना सङ्क्रमित भएका खबर सुनिरहन्छु ।
सङ्क्रमित भएको केही दिनमै मृत्यु भएका खबर पनि उतिकै सुन्दैछु । यसपटक कोरोना सङ्क्रमित हुनेहरूको खबर भटाभट आइरहँदा लाग्छ म पनि कति दिन अछुतो रहन सकुँला र ? पहिलो पटक चिनबाट सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै आक्रान्त पार्यो । २०१९ बाट सुरु भएको कोरोना भाइरसले लाखौँको ज्यान लियो । त्यसबाट नेपाल पनि आक्रान्त बन्न पुग्यो ।
पहिलो पटकको कोरोना भाइरसलाई जित्न सफल भयौँ भनेर खुशी भएका हामीमाझ फेरि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण देखिन थाल्यो । यसपटकको सङ्क्रमण पहिले भन्दा तीव्र गतिमा फैलिरहेको छ । भारतका समाचार हेर्दा र पढ्दा रसाएका हाम्रा आँखा अब आफ्नै मुलुकको समाचार पढ्दा रसाउने भए ।
भारतमा दैनिक ४ लाखभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् भने नेपालमा दैनिक ७ हजार भन्दा बढी कोभिडबाट सङ्क्रमित हुदै गएका समाचार आउन थालेका छन् । जुन तथ्याङ्क निकै डरलाग्दो हो । दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दो छ भने मर्नेको सङ्ख्या उस्तै । विज्ञहरूका अनुसार यही अनुपातमा कोरोना सङ्क्रमित थपिदै जाने हो भने नेपाल पनि छिटै नै भारतको स्थितिमा पुग्ने देखिन्छ । यसपटक सङ्क्रमित हुनेहरूमा अधिकांश ३० देखि ५० वर्षको उमेर समूह रहेको बताइएको छ ।
कोरोना सङ्क्रमण दरलाई न्यून गर्न देशका अधिकांश स्थानमा लकडाउन अर्थात निशेधाज्ञा जारी गरिएको छ । तर निशेधाज्ञा जारी गरिएका स्थानहरूको संक्रमण दर झनै उच्च बन्दै गएको छ । पश्चिम नेपालको बाँकेमा सङ्क्रमितहरूको स्थिति भयावह छ । सङ्क्रमित भइसकेपछि अस्पतालसम्म लैजान साधन नपाएर ट्याक्टर तथा डोजरमा लैजाँदै गर्दा बिरामीको बाटोमै मृत्यु भएका खबरले मानवीय संवेदनामाथि प्रश्न खडा गरिदिएको छ । कोरोना सङ्क्रमितलाई एम्बुलेन्सले अस्पताल पुर्याउन नमानेको खबर सुन्दा समाजमा साँच्चै मानवता हराएको हो त भन्ने लागेको छ ।
बिरामीको उपचारका लागि अस्पतालमा भनसुन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यतिबेला कोराना सङ्क्रमित भइहाले अस्पताल जानुपर्ने अवस्थामा चिनजानका आधारमा भनसुन गरेर बिरामीले उपचार पाउने गरेका छन् । यस्ले के दर्साउँछ भने हाम्रो राज्य व्यवस्था यतिसम्म कमजोर रहेछ कि अब कोरोना लागि हाले सीधासाधा जनता उपचार नपाएरै घरमै मर्नुपर्ने स्थिति सिर्जना भएको छ । चैतको सुरुवातमै भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको थियो । त्यसलगत्तै विज्ञहरूले नेपालमा पनि त्यसको प्रभाव पर्ने भन्दै सरकारलाई सतर्क रहन सुझाएका थिए ।
तर नेपाल भारत खुला सीमा नाका तथा नेपाल भएर तेस्रो मुलुक जाने भारतीय नागरिकहरूलाई सरकारले बेलैमा रोक लगाउन नसक्दा नेपालमा पनि स्थिति भयावह बन्दै गयो ।सरकारले समयमै होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा बिरामी उपचारका लागि चाहिने साधनस्रोत तथा जनशक्तिको व्यवस्थापन गर्न नसक्दा स्थिति झन जटिल बन्दै गएको छ । ठाउँठाउँबाट खबर आउन थालेका छन् कतै अक्सिजनको अभाव कतै स्वास्थ्यकर्मीको अभाव त कतै बिरामी अस्पतालसम्म पुर्याउने साधनको अभाव ।
दैनिक हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमित बिरामी थपिँदै छन् तर हाम्रो जस्तो मुलुकमा पर्याप्त स्रोत, साधन र जनशक्तिको अभाव छ । हजारौँको सङ्ख्यामा थपिएका बिरामीका लागि चाहिने अक्सिजनको पनि कमि हुन थालेको चिकित्सकहरूले नै भन्न थालेका छन् । यो स्थितिमा जनमानसमा एक खालको भय पैदा भएको छ ।आम नागरिक कोरोना लागिहाले मरिन्छ कि भन्ने त्रासमा छन् । पहिलो चरणको कोरोना सङ्क्रमणबाट बल्लबल्ल पार लागियो भनेर खुशी भएको व्यापारव्यवसाय लगायतको अन्य क्षेत्र फेरि चौपट हुने स्थितिमा पुगेको छ । सामाजिक आर्थिक गतिविधि शून्य प्रायः भएका छन् । कोरोना सङ्क्रमणसँगै मुुलुकमा खाद्यान्नमा कालोबजारी सुरु भएको छ । बजार अनुगमन नहुदा केही दिनमै खाद्यान्नको मूल्य आकासिएको छ ।
एकातिर जनता खान नपाएर मर्ने अवस्थामा छन् भने अर्कोतर्फ सङ्क्रमणले मर्ने जोखिम उत्तिकै । एकातिर समाजमा यस्ता मानिस छन् जसले कोरोना लागिहाल्छ कि भनेर घरमा अक्सिजन सिलिन्डर किनेर राखेका छन् ।यसले गर्दा अस्पतालमा अक्सिजन अभाव सिर्जना गरिदिन सक्छ । त्यसैले अनावश्यक रूपमा यसरी अक्सिजन खरिद गरेर राख्दा अस्पतालमा एउटा बिरामीको अक्सिजन अभावका कारण मृत्यु हुन सक्छ भन्ने कुरामा हेक्का राखौँ ।
फेरि पनि प्रधान्मन्त्रीज्यू कोरोना सामान्य विषय होइन । कोरोनाले देशमा विकराल स्थिति पैदा भइसकेको छ । कोरोना तपाईँले भने जसरी बेसार पानी र बेलाउतीको पातले सजिलै भाग्दैन ।
यस सङ्कटका बेला मौकाको फाइदा उठाउने होइन एकले अर्कोलाई सहयोगको भावना राखौँ । यतिबेला कोरोना सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू दिनरात नभनी खटिरहेका छन् । कति स्वास्थ्यकर्मी आफैँ कोरोना सङ्क्रमित भएर पनि बिरामीको सेवामा लागिरहेको खबरले स्वास्थ्यकर्मीप्रतिको सम्मान उच्च गराइदिएको छ ।
कोरोना सङ्क्रमणलाई जित्न सरकार र स्वास्थ्य निकाय मात्र लागि परेर हुँदैन । हामी आम नागरिकको पनि एउटा दायित्व हुन्छ कि यो सङ्कटको घडीमा सबै मिलेर सामना गर्ने ।
यस सङ्कटको घडीमा हामीले विश्व स्वास्थ्य सङ्गठनले तोकेका स्वास्थ्य मापदण्डहरूको पालना गर्न जरुरी छ । हामी सरकारमाथि दोष थुपारेर आफू सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गर्दैनौँ । नेपालमा जनताको अटेरीपन हेर्ने हो भने अचम्मको छ ।भीडभाड, विवाहभोज, मास्क नलगाउने, सामान्य सरसफाइमा ध्यान नदिने जस्ता हेलचक्र्याइँ । एउटा भनाइ छ नि ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस ।’
यस स्वास्थ्य सङ्कटको बेला हामी आआफ्नो स्थानबाट सरकारले तोकेका नियमहरूको पालना गरौँ । बिना काम घर बाहिर ननिस्कौँ, स्वास्थ्य सुरक्षामा खटिएकाहरूलाई उच्च सम्मान गर्दै सहयोग गरौँ ।यस घडीमा एक असल नागरिक बनेर आफू आफ्नो परिवारको स्वास्थ्य आफ्नै हातमा छ भन्ने कुरालाई नर्बिसौँ । स्वास्थ्यका सामान्य मापदण्ड पनि पूरा नगर्दा तपाईँ हाम्रो पनि कोराना सङ्क्रमणका कारण मृत्यु भएको खबर छापिन सक्छ भन्ने कुरामा हेक्का राखौँ ।
फेरि पनि प्रधान्मन्त्रीज्यू कोरोना सामान्य विषय होइन । कोरोनाले देशमा विकराल स्थिति पैदा भइसकेको छ । कोरोना तपाईँले भने जसरी बेसार पानी र बेलाउतीको पातले सजिलै भाग्दैन ।देशमा जनता भयवित छन् । कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु पर्ने स्थिति नआवस् । त्यसका लागि तपाईँले आफू मातहतका संयन्त्रलाई चुस्त बनाउनु जरुरी छ ।
भण्डारी रुपन्देहीमा रहेको तिलोत्तमा एफएमको प्रबन्ध निर्देशक हुुनुहुन्छ ।
-CIN Khabar
प्रतिकृया दिनुहोस