सोमबार, ७ माघ, २०८१

पुरुषले घर सम्हालौँ, महिलालाई राजनीति सम्हाल्न दिऊँ

महिलाहरूले आफ्नो आर्थिक, राजनीतिक, शैक्षिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमा संघर्ष गरेको आजदेखि होइन । तिनै संघर्षका परिणामस्वरूप समाजमा महिलाको अवस्थामा केही सुधार भए पनि उल्लेख्य रूपमा सुधार हुन सकेको छैन । आज एक्काइसौँ शताब्दीमा आएर हेर्दा पनि शिक्षा, रोजगारी, सामाजिक, राजनीतिक क्षेत्रमा महिला सहभागिता पुरुषहरूको तुलनामा ज्यादै न्यून छ । महिला सशक्तीकरण धारणाको विकास नेपालमै पनि प्रशस्त उतारचढाव पार गर्दै आएको छ ।

सर्वप्रथम १९७४ सालमा योगमाया देवी र दिव्या कोइरालाले नारी जागृति संघ (महिला समिति) स्थापना गरी महिलाहरूमा चेतना जागृत गराउने प्रयास गरे । त्यस्तै, विसं १९९३ मा चन्द्रकान्ता मल्लले महिलाहरूले पढ्न पाउनुपर्छ भनी स्कुल खोल्ने आवाज उठाइन् ।

त्यसैगरी, समान कामको समान ज्याला, बराबर अधिकारजस्ता माग राखी विसं २००३ मा विराटनगरका महिला मजदुरहरूले गरेको आन्दोलनलाई सशक्त नारी राजनीतिक आन्दोलनको महत्त्वपूर्ण घटनाका रूपमा लिइन्छ । त्यसै वर्ष काठमाडौंमा रेवन्तदेवी आचार्य र उनका साथी मिलेर बालविवाह, बहुविवाहको अन्त्य गर्ने उद्देश्यले आदर्श महिला संघ स्थापना गरेका थिए ।

त्यस्तै, २००४ सालमा मंगलादेवी, सहाना प्रधान, स्नेहलतालवगायतका महिलाहरूले सर्वसम्मतिबाट नेपाल महिला संघ स्थापना गरे । आदर्श महिला संघ र नेपाल महिला संघ दुवै संगठनले राणा शासन र समाजमा व्याप्त बालविवाह, बहुविवाहविरुद्ध दबाब र जनचेतना दिने काम गरे ।

नेपाली महिला आन्दोलनको परिणामस्वरूप २००४ सालको वैधानिक कानुनले महिलालाई निर्वाचनमा मतदान गर्न पाउने अधिकार र उम्मेदवारका रूपमा उठ्न पाउने अधिकार प्रदान गर्‍यो । यो उपलब्धि कसैले दयामायाका आधारमा दिएर प्राप्त भएको उपलब्धि थिएन, महिलाहरूले लडेर खोसेको अधिकार थियो ।

त्यसपश्चात् २००७ सालको जनक्रान्तिमा पुरुषहरूसरह महिलाहरू ऐक्यवद्ध भई आन्दोलनको अगुवाइ गरे । राणा शासन, पञ्चायती व्यवस्थादेखि लिएर २०६२/६३ को जनआन्दोलनमा समेत महिलाको सहभागिता अग्रपंक्तिमा थियो । तर, इतिहासमा सँगसँगै आन्दोलन गरेका, किताबदेखि हतियारसम्म सँगै बोकेका र सँगै राजनीति सुरु गरेका महिला र पुरुषहरूमा पुरुषहरू आज नीति निर्माण तहमा छन् तर महिलाहरू किन गुमनाम भए ? महिलाहरूको राजनीति के भयो ? प्रश्न अनुत्तरित छ ।

१. नेपाली महिला राजनीतिज्ञको इतिहास

इतिहासमा सक्रिय राजनीति गरेका र सशक्त महिला नेतृ भनेर चिनिनेमध्ये द्वारिकादेवी ठकुरानी, मंगलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्य आदि हुन् । उनीहरूको विद्रोह र साहसको गौरवशाली इतिहास पढ्दा एउटा छुट्टै किसिमको ऊर्जा प्राप्त हुन्छ । किनकि त्यो समय महिलालाई त्यसरी सक्रिय राजनीतिमा आउन सजिलो थिएन । त्यो आफैँमा गौरवको विषय थियो ।

 

सर्वप्रथम वि.सं. १९७४ मा योगमाया देवी र दिव्या कोइरालाले नारी जागृति संघ (महिला समिति) स्थापना गरी महिलाहरूमा चेतना जागृत गराउने प्रयास गरे । त्यस्तै, वि.सं. १९९३ मा चन्द्रकान्ता मल्लले महिलाहरूले पढ्न पाउनुपर्छ भनी स्कुल खोल्ने आवाज उठाइन् । 

त्यस्तै, २००४ सालमा मंगलादेवी, सहाना प्रधान, स्नेहलता आदि महिलाहरूले सर्वसम्मतिबाट नेपाल महिला संघ स्थापना गरे । आदर्श महिला संघ र नेपाल महिला संघ दुवै संगठनले राणा शासन र समाजमा व्याप्त बालविवाह, बहुविवाहविरुद्ध दबाब र जनचेतना दिने काम गरे ।

राजनीतिमा महिला आउनका लागि कसरी मार्गप्रशस्त गर्न सकिन्छ भन्नेमा हाम्रो पुस्ताले समाधानमुखी भएर सोच्न जरुरी छ । परिवर्तन रातारात आउँदैन परिवर्तनका लागि अथक् प्रयास र मिहिनेत आवश्यक छ । त्यो अथक् मिहिनेत यो देशले हाम्रै पुस्ताबाट खोजेको छ ।

नेपाली महिला आन्दोलनको परिणामस्वरूप २००४ सालको वैधानिक कानुनले महिलालाई निर्वाचनमा मतदान गर्न पाउने अधिकार र उम्मेदवारका रूपमा उठ्न पाउने अधिकार प्रदान गर्‍यो । यो उपलब्धि कसैले दयामायाका आधारमा दिएर प्राप्त भएको थिएन, महिलाहरूले लडेर खोसेको अधिकार थियो ।

यसरी संघर्ष गर्दै द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिला मन्त्री भइन् । त्यस्तै, २०४६ पछिको अन्तरिम सरकारमा सहाना प्रधान उद्योगमन्त्री थिइन् । वि.सं. २०१६ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइरालालाई बर्खास्त गरी शासनसत्ता आफ्नो हातमा लिएर राजाले प्रजातन्त्रको हरण गरेको भनी चौतर्फी विरोध भइरहँदा टुँडिखेलमा राजा महेन्द्रविरुद्ध प्रदर्शन गर्दै कालो झण्डा देखाउनेमध्ये एक थिइन् १६ वर्षे शैलजा आचार्य पनि । नेपाली नारी आन्दोलनको एक प्रतीक बन्न पुगिन् उनी ।

त्यसैगरी, पञ्चायतकालमा प्रजातन्त्र प्राप्तिका लागि जेल पर्ने तथा भूमिगत हुनेमा शैलजा आचार्य, नोना कोइराला, रानु अधिकारी आदि महिलानेतृहरू थिए । इतिहास पल्टाएर हेर्दा जुन तवरले महिलाहरू राजनीतिमा होमिएका थिए र सक्रिय राजनीति गरेका थिए, त्यहीअनुसार आजको अवस्थामा आइपुग्दा त राजनीतिमा महिला सहभागिता निकै अब्बल हुनुपर्ने थियो तर त्यसो भइरहेको छैन । किन ? महिलाको राजनीति के भयो ? आन्दोलनका महिला नेतृहरू शासनसत्तामा किन पुगेनन् भन्ने प्रश्नको जवाफ हामीले आफैँबाट र आफ्नै घरबाट खोज्नुपर्छ ।

२. राजनीतिमा महिला सहभागिताका चुनौती

राजनीतिमा महिला सहभागिताका चुनौती धेरै छन् । सानासाना कारणबाटै चर्चा गरौँ । हिजो मेरा आमा –हजुरआमाको पुस्ता शिक्षा लिने अवसरबाटै वञ्चित हुनुपर्‍यो, किनकि त्यो समयमा छोरी पढाउन हुन्न, यदि महिला शिक्षित भए भने आफ्नो श्रीमान्‌को कुरा मान्दैनन्, श्रीमान्‌भन्दा बाठा हुन्छन् भन्ने मान्यता थियो रे । त्यसैले त्यही मानसिकताले काम गर्‍यो । फलस्वरूप मेरा आमा–हजुरआमाहरूको पुस्ताका कयौँ महिलाहरू शिक्षा लिने अधिकारबाट वञ्चित हुनपर्‍यो । तर, अहिले छोरीलाई शिक्षाको हकमा त्यति धेरै विभेद नभए पनि रोजगारी, सामाजिक, राजनीतिक क्षेत्रमा अझै पनि विभेद कायमै छ ।

अहिलेको समाजको मानसिकताले छोरीको पढाइलाई धनी र जागिरे केटा पाउनका लागि गरिने पूर्वतयारीको रूपमा हेर्छ र सामाजिक र राजनीतिकक्षेत्रमा महिला सहभागिताको विषयमा त हाम्रो समाज निर्दयी नै छ भन्दा हुन्छ । आफ्ना छोरी/बुहारी राजनेता बनून् भन्ने चाहना राख्ने अथवा राजनीतिमा लागून् भनेर कल्पना गर्नसम्म डराउने हाम्रो समाजमा महिला राजनीतिमा आए भने उनीहरूको क्षमता कार्यदक्षतालाई पूरै बेवास्ता गरी चरित्रमा औँला उठाइदिने र महिलालाई कमजोर बनाउने प्रवृत्ति व्याप्त छ ।  

एउटा उदाहरण दिऊँ: कुनै परिवारमा छोराले राजनीति गर्छु भन्यो भने अथवा राजनीतिमा सक्रिय भयो भने उसलाई परिवार र समाज दुवैको साथ र सहयोग मिल्छ तर त्यही स्थानमा छोरीले राजनीति गर्छु भनी भने छोरीको हकमा परिवार, समाज फरक भइदिन्छ । छोरीलाई राजनीतिक सामाजिक क्षेत्रमा अघि बढ भन्ने भन्दा पनि विवाह, श्रीमान्, सन्तान, भविष्य आदि आदि त्रास र जिम्मेवारी देखाएर महिलाको मनोबल गिराउने काम गरिन्छ । हुन त महिलाहरू आर्थिक रूपमा सक्षम हुँदैनन् । त्यसैले पनि उनीहरू आफ्नो निर्णय आफैँ लिन सक्दैनन् पनि भन्लान् तर के आत्मनिर्भर महिलाहरूले चाहिँ राजनीतिमा आउने स्वतन्त्रता पाएका छन् त ?

३. राजनीतिमा महिला कसरी टिक्ने ?

राजनीतिमा महिलाहरू आउने आँट नगरेका होइनन्, नआएका पनि होइनन् । तर, किन महिलाहरू राजनीतिमा स्थिर हुन सकेनन् त ? कुनै राजनीतिक पृष्ठभूमिबाट आएका महिला र पुरुषबीच विवाह भयो भने विवाहपश्चात् पुरुषको राजनीतिक जीवनमा कुनै असर पर्दैन । ऊ उत्तिकै सक्रिय रूपमा राजनीतिमा अग्रसर भइरहन्छ । निरन्तरता दिइरहन्छ । तर, यही कुरा महिलाको हकमा फरक भइदिन्छ । विवाहपश्चात् श्रीमान्‌को घरको मूल्यमान्यता र चालचलनअनुसार आफूलाई अनुकूल बनाउनुपर्ने र सन्तान हुर्काउने, स्याहार गर्ने जिम्मेवारी पनि पुरुषहरूको तुलनामा महिलामाथि नै बढी थोपरिएको हुन्छ जसका कारण महिलाको निकै समय त्यता जान्छ ।

आफूलाई पूर्ण रूपमा गृहिणी बनाउनुपर्दा महिलाले राजनीतिक जीवनलाई निरन्तरता दिन सक्दैनन् अर्थात् रोकिन्छ । तर, यसमै अर्को अचम्मलाग्दो कुरा के छ भने, सँगै राजनीतिबाट आएका महिला र पुरुषबीच विवाह भयो, विवाहपश्चात् महिलाले राजनीतिक जीवन त्यागेर घर सम्हाल्न थाल्छन् । श्रीमान्‌को निधन भएपछि मात्र पुनः श्रीमती राजनीतिमा आउँछन् भन्ने देखिन्छ । त्यो पनि पार्टी पुरुषहरूकै स्वार्थका कारणले । पार्टीलाई जो जिताउनु छ । यो अचम्मलाग्दो व्यवहार किन छ ? कस्तो मानसिकताले गर्दा यो व्यवहारलाई सघाउ पुर्‍याएको हो ? किन एउटा परिवारका श्रीमान्/श्रीमती दुवैले सँगै राजनीति गर्न सक्दैनन् ? अथवा श्रीमतीले नै राजनीति त्यागेर घर सम्हाल्नुपर्ने किन होला ?

श्रीमान्‌ले राजनीति छोडेर श्रीमतीलाई अघि बढाउन किन सक्दैनन् होला ? अहिले सक्रिय राजनीतिमा रहनुभएका मेरा सहकर्मी पुरुष मित्रहरू तथा राजनीतिमा रहनुभएका तमाम अग्रज पुरुषहरूलाई एउटा प्रश्न गर्न चाहन्छु– तपाईंहरूका श्रीमती/आमा/दिदीबहिनीले गृहस्थ सम्हालेर निसंकोच तपाईंहरूलाई राजनीति गर्ने स्वतन्त्रता दिनुभएको जस्तै तपाईंहरू पनि आफ्ना श्रीमती/दिदीबहिनीलाई राजनीतिमा आउने र सक्रिय राजनीति गर्ने स्वतन्त्रता दिन सक्नुहुन्छ ?

मैले राजनीति गरेको छु । म देश बनाउँछु भन्ने सोचिरहँदा मेरो परिवारले मलाई दिएको स्वतन्त्रता र विश्वासका कारण नै म राजनीतिमा छु भनेर कहिल्यै सोच्नुभएको छ ? अथवा मैलेजस्तो स्वतन्त्रता मेरा श्रीमती/आमा/दिदी/बहिनीले पाउने हो भने राजनीतिमा मैले भन्दा उत्कृष्ट नेतृत्व गर्थे होलान् कि भनेर कहिल्यै सोच्नुहुन्छ ? एकपटक मनन गर्नुहोस् न है !

इतिहासमा सँगसँगै आन्दोलन गरेका, किताबदेखि हतियारसम्म सँगै बोकेका र सँगै राजनीति सुरु गरेका महिला र पुरुषहरूमा पुरुषहरू आज नीति निर्माण तहमा छन् तर महिलाहरू किन गुमनाम भए ? महिलाहरूको राजनीति के भयो ?

महिलाको राजनीति के भयो भन्ने प्रश्नको आधाजति जवाफ त यसैबाट आउला । पक्कै पनि महिलालाई पुरुषहरूको जस्तो स्वतन्त्रताको खुल्ला आकाश छैन, सडकमा महिला अधिकारका कुरा गर्नु र आफ्नो परिवारमा महिलालाई अघि बढ्न साथ दिनुमा फरक छ । एकपटक मेहनत गरौँ न है ? आफ्नै परिवारबाट सुरु गरौँ न महिला सशक्तीकरण । आफ्नै श्रीमती र दिदीबहिनीको सशक्तिकरणको कुरा गरौँ त ?

४. राजनीतिक दलमा महिलाको स्थान

कानुनले राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि राजनीतिक दलमा महिला सहभागिता केवल संख्या पुर्‍याउने प्रक्रियामै सीमित छ । नेपालका कुनै पनि राजनीतिक दलले महिलालाई पार्टी प्रमुख बनाउने साहस गर्दैनन् । के नेपालका कुनै पनि राजनीतिक दलमा महिला नेतृहरू पुरुषसरह बौद्धिक र क्षमतावान् छैनन् त ? महिलालाई पार्टीमा कामको जिम्मेवारी दिन हिचकिचाउने, महिलाले राखेका बौद्धिक प्रस्ताव र तर्कलाई अवमूल्यन गर्ने, ठट्टा गरेर टार्ने, होच्याउने बेवास्ता गर्नेजस्ता क्रियाकलाप गरेर जसरी पनि महिलालाई कमजोर र अयोग्य प्रमाणित गर्ने खेलमा लागेकाहरू हरेक राजनीतिक दलमा देखिन्छन् ।

होइन भने इतिहासमा सँगै आन्दोलन गरेर राजनीतिमा आएका, आफ्नो पार्टीलाई बराबर योगदान दिएका महिला र पुरुषमा किन पुरुषहरूको नाम मात्र अगाडि आउँछ ? महिलाको योगदानको चर्चा किन हुँदैन ? किन इतिहासले बीपी, पुष्पलाल र मदनलाई मात्र चिनाउँछ ? राणाशासन र पञ्चायती व्यवस्थाविरुद्ध कैयौँ महिला लडेका थिए, बीपीको नाम बारम्बार आउँछ तर शैलजा आचार्य, सहाना प्रधानहरूलाई किन गुमनाम बनाइन्छ ? इतिहासमा परिवर्तनका लागि  योगदान पुरुषहरूले मात्र दिएका थिए त ?

५. समाधान

राजनीतिमा महिला सहभागिताको प्रमुख चुनौती पितृसत्तात्मक सोच र संरचना नै हो, यसमा दुईमत छैन । त्यसैले पहिले त हामीले पितृसत्तात्मक सोच र पितृसत्तात्मक संरचनाविरुद्ध नै लड्नुपर्छ । राजनीतिमा महिला आउनका लागि कसरी मार्गप्रशस्त गर्न सकिन्छ भन्नेमा हाम्रो पुस्ताले समाधानमुखी भएर सोच्न जरुरी छ । परिवर्तन रातारात आउँदैन परिवर्तनका लागि अथक् प्रयास र मिहिनेत आवश्यक छ । त्यो अथक् मिहिनेत यो देशले हाम्रै पुस्ताबाट खोजेको छ ।

हिजो राणाशासन र पञ्चायती व्यवस्थाविरुद्ध लड्नुभएका द्वारिका देवी, सहाना, शैलजालाई जस्तो अप्ठ्यारो अहिलेको पुस्तालाई पक्कै छैन । त्यसैले म यही लेखमार्फत सम्पूर्ण महिलाहरूलाई आह्वान गर्छु‍– उभिनुहोस् र उठ्नुहोस् । एक पटक हामी सबै जागौँ, उठौँ । अब चुप बस्ने समय छैन । हाम्रा समस्या हाम्रा एजेन्डाका लागि हामी आफैँ लड्नुपर्छ ।

महिलाहरूले घरको काम मात्र गर्नुपर्छ भन्ने दृस्टिकोणमा बनेको सामाजिक सत्ताको आधारभूत चरित्रलाई नबदलेसम्म यसले महिलाहरूलाई राजनीतिक/सामाजिक सत्ताको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउन आनाकानी गर्छ । आफूमा भएको नेतृत्व शक्तिलाई दबाएर श्रीमान्/दाजुभाइलाई राजनीति गर भनेर आफू गृहस्थ सम्हालेर बस्ने छुट अब हामीलाई छैन । समय फेरिएको छ भन्ने हो भने पुरुषले घरमा बसेर श्रीमतीलाई कार्यालयमा काम गर्न र राजनीति गर्न पनि सहज मान्नैपर्छ । भारतकी इन्दिरा गान्धी, सोनिया गान्धी, श्रीलंकाकी चन्द्रिका कुमारातुङ्गाको नेतृत्वबारे पढेर मक्ख परेर बसेर हुँदैन । यो देशलाई सयौँ इन्दिरा गान्धी, सयौँ शैलजा आचार्यको जस्तो नेतृत्व चाहिन्छ र त्यो नेतृत्व अब हाम्रो पुस्ताले दिन सक्नुपर्छ ।

(तिमल्सिना विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य र विवेकशील साझा युवा संघठनकी सचिवालय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस