शनिबार, २२ मङ्सिर, २०८१

इन्द्रसरोवरको मतगणना सम्पन्न

एमालेका पुडासैनी पालिका नेतृत्वमा

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमालेका उम्मेदवार देव कृष्ण पुडासैनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । आईतवार राती सम्पन्न मत गणना अनुसार पुडासैनी ३,७२२ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्‍वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन् । पराजित लामाले ३,४७२ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा झिनो मत अन्तर सहित कांग्रेसका निर्मला रुम्बालाई पाखा लगाउँदै एमालेका उमाकुमारी लामाले विजयी हासिल गरे । उपाध्यक्ष पदका विजेता लामाले ३७२५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रुम्बाको ३६५६ मत ल्याए । यी दुई बिच को मतान्तर ६९ मत रहेको छ ।

उपाध्यक्ष पदमा विजेता लामाको यो पुनरागमन हो । उनी यसअघिको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष हुन् । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका लक्ष्मी डंगोललाई पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएकी थिईन् ।

यस्तै पालिकाको ५ नम्बर वडामा नेपाली कांग्रेसका दुतराज तितुङले भारी मतान्तर सहित नेकपा एकीकृत समाजवादीका रामकृष्ण कार्कीलाई पराजित गरे । कांग्रेसका तितुङले ८१७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कार्की ३३० मतमा समेटिए ।

यस वडामा काग्रेसका वडा अध्यक्ष सहित ४ र दलित महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका शोभा कामी निर्वाचित भएका छन् । भने नेकपा एमालेका राजु लामा २९५ मतमा सीमित रहे ।

गाउँपालिकाको समग्र मत परिणाम अनुसार कुल २७ सिटका लागि भएको यो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र १ जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित सहित १३ सिट, नेपाली कांग्रेसले ३ वटा वडामा प्यानल सहित जित्दा १३ र नेकपा एकीकृत समाजवादीले दलित महिला सदस्य १ सिटमा विजय हासिल गरेका छन् ।

यसअघि को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको स्पष्ट बहुमत आएको यो गाउँपालिकामा यसपाली चुनावी समीकरण फेरिएको छ । प्रत्यक्ष निर्वाचित सिटमा नेपाली कांग्रेस र एमाले बरावरी सिटमा रहँदा कार्यपालिका गठनमा सकस हुने देखिन्छ । 

कार्यपालिकामा मनोनयन गरिने कोटाहरूमा यस पटक निर्वाचन गर्नुपर्ने मत परिणाम बताउँछ । 

 

प्रतिकृया दिनुहोस