नव निर्वाचित जनप्रतिनिधिले लिए प्रमाणपत्र
सबै कार्य पारदर्शी हुने नवनिर्वाचित अध्यक्ष पुडासैनीको भनाइ ।
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाका नव निर्वाचित पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले हरेक क्रियाकलाप पारदर्शी हुने बताएका छन् । भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनधिहरूलाई मगंलवार आयोजित प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पुडासैनीले यस्तो बताएका हुन् ।
इन्द्रसरोवर गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत मुरारी वस्तीको अध्यक्षतामा मंगलवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका नव निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष, ५ वटै वडाका वडा अध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो ।
सुन्नुहोस् अध्यक्ष पुडासैनीको सम्बोधन:
इन्द्रसरोवर गाउँपालिकाको प्रत्यक्ष निर्वाचनतर्फ २७ सिटका लागि गत वैशाख ३० गते शुक्रवार सम्पन्न निर्वाचनमा नेकपा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष, २ वडा अध्यक्ष र ९ सदस्य सहित १३ सिट, नेपाली कांग्रेसले ३ वडा अध्यक्ष र १० सदस्य गरी १३ सिट र नेकपा एकीकृत समाजवादीले एक सदस्य सिटमा विजय हासिल गरेको थियो ।
यस पटक अधिकांश जनप्रतिनिधि नयाँ अनुहारका भए पनि ६ जना भने पुन: निर्वाचित भए ।
यी हुन् दोहोरिएका अनुहार ।
उपाध्यक्ष: उमाकुमारी लामा
स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी डंगोललाई भारी मतान्तरले पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित उमाकुमारी लामा यस पटक नेपाली कांग्रेसका निर्मला रुम्बालाई पछाडि पार्दै पुन: जिम्मेवारीमा फर्केका हुन् ।
यस पटकको निर्वाचनमा झिनो मत अन्तर सहित कांग्रेसका निर्मला रुम्बालाई पाखा लगाउँदै लामाले विजयी हासिल गरे । उनले ३७२५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रुम्बाले ३६५६ मत ल्याए । यी दुई बिच को मतान्तर ६९ रहेको छ ।
वडा अध्यक्ष: चन्द्रकुमार बल
चन्द्रकुमार बल २०७४ सालमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट नेपाली काग्रेसका विष्णुबहादुर बललाई भारी मतान्तरले पराजित गर्दै इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडामा निर्वाचित वडा सदस्य हुन । यस पटक भने उनी सो वडामा अध्यक्ष पदमा विजयी हुँदै पुनरागमन भएका छन् ।
गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गठवन्धन तर्फ नेकपा माओवादीका उम्मेदवार विष्णुबहादुर डिम्दुङलाई अत्याधिक मतान्तरले पछाडी पार्दै विजायी भए । वडा अध्यक्ष बलले ८०५ मत ल्याउँदा डिम्दुङ २०५ मतमा रोकिनु प~यो ।
सदस्य: वसन्त थापा मगर
इन्द्रसरोवर ३ नम्बर वडा सदस्य पदमा निर्वाचित वसन्त थापा मगर पुन: सोही पदका लागि यसपटक निर्वाचित भएका छन् । यसपटक उनले गठवन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रेम पाख्रिनलाई भारी मतान्तर सहित पाखा लगाउँदै विजयी भएका हुन् ।
मगरले ११६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी पाख्रिनले ६३९ मत ल्याएका थिए । पाख्रिन नेकपा एकीकृत समाजवादीका इन्द्रसरोवर गाउँ कमिटी उपाध्यक्ष हुन् ।
सदस्य: लिला सुनार
इन्द्रसरोवर गाउँपालिका ३ नम्बर वडा अन्तर्गत सदस्यमा पुरानै अनुहार मध्ये एक हुन् लिला सुनार । उनी नेकपा एमालेका तर्फ बाट सो वडामा दलित महिला सदस्य पदमा विजयी भएका हुन् ।
यस पटकको निर्वाचनमा सुनारले नेपाली काग्रेसका मुना परियारलाई भारी मतान्तरले पराजित गर्न सफल भए । विजयी सुनारले ११७९ मत प्राप्त गर्दा नेपाली काग्रेसका परियार ६६२ मा सिमित रहे ।
सदस्य: लक्ष्मी दमाई
इन्द्रसरोवर गाउँपालिका १ नम्बर वडामा पुरानो अनुहारको जनप्रतिनिधि हुन् लक्ष्मी दमाई । यसपटकको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्विरोध निर्वाचित उनी दलित महिला वडा सदस्य हुन् ।
२०७४ मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पनि उनी दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । रोचक यो रह्यो की यस पटक उनी नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरी पुनः निर्वाचित भएका हुन् ।
सदस्य: सावित्री सुनार
इन्द्रसरोवर गाउँपालिका ४ नम्बरमा सावित्री सुनार पनि पुनरागमन अनुहार मध्येका एक हुन् । २०७४ सालमा सम्पन्न स्थानीय सदस्य निर्वाचनमा निर्वाचित उनी यस पटक गठवन्धनका तर्फबाट उम्मेदवार दर्ता गर्न नसके पछि दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस