इन्द्रसरोवरका सहकारीहरुले अब रासायनिक मल बिक्रीको रेकर्ड अनलाईन प्रणालीमा राख्ने
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका भित्र रासायनिक मल बिक्री गर्ने सहकारीहरुले मल बिक्री गरेको रेकर्ड अनलाईन प्रणाली मार्फत राख्ने भएको छ । गाउँपालिका भिक्र रासायनिक मल बिक्रीका लागि इजाजत पत्र पाएका ६ वटा सहकारीहरु रहेका छन् । ति सम्पूर्ण सहकारीहरुका प्रतिनिधीहरुलाई पौष १३ गते मंगलबार गाउँपालिकाले एकदिने अभिमुखिकरण तालिम दिएको थियो । तालिम पश्चात मल बिक्री रेकर्ड अब अनलाईन प्रणालीमा राखिने र सो सम्बन्धि क्रियाकलापलाई मन्त्रालयले समेत निरिक्षण गर्न सक्ने गाउँपालिकाका कृषि संयोजक कुमार पौडेलले जानकारी दिए ।
इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा प्रशिक्षक द्वय कृषि सामाग्री कम्पनी लिमिटेड, बागमती प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक बल बहादुर पन्त र सूचना अधिकारी गणेश दत्त जोशी रहेका थिए । तालिम पश्चात इन्द्रसरोवरका उक्त सहकारीहरुद्वारा मल बिक्रीको हस्तलिखित रेकर्ड राख्ने प्रवृतिलाई विस्थापित गरि अनलाईन प्रणाली अवलम्बन गर्ने भएको छ ।
स्थानीय तह रासायनिक मल वितरण व्यवस्थापन समितिका संयोजक तथा गाउँपालिकका उपाध्यक्ष उमा कुमारी लामाको अध्यक्षतामा भएको तालिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल र वडा नं. २ का अध्यक्ष राजुमान महर्जनको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस